Logo
  • Home
  • Our Movement
    Organizing
    Organizing
    Direct Support
    Direct Support
    Empowerment
    Empowerment
    Representation
    Representation
  • Our Voices
    Report
    Report
    Purano Panna
    Purano Panna
    Photo Story
    Photo Story
    Story & Articles
    Story & Articles
    Videos
    Videos
    Statements
    Statements
  • Join Us
    • Become Member
    • Career
  • About Us
    Vision Mission and Values
    Vision Mission and Values
    How we evolve?
    How we evolve?
    Our Network
    Our Network
    Shramik Chautari
    Shramik Chautari

ल्हेन्दे खाेलाकाे बाढीले बगायो विदेशको कमाइ, मल्हम लगाउने बेला यही…

October 5, 2026
सद्भाव नेपाली
ल्हेन्दे खाेलाकाे बाढीले बगायो विदेशको कमाइ, मल्हम लगाउने बेला यही…

नुवाकोट, विदुर नगरपालिका–७ तुप्चेका नारायणप्रसाद नेपाल कुवेतमा रहेर १२ वर्ष काम गर्नुभयो। ८ वर्षअघि देश फर्केर पहिले रसुवागढी नाकानजिकै टिमुरेमा होटल व्यवसाय गर्नुभयो। ५ वर्ष होटल चलाएपछि पछिल्लो समय उहाँ कुखुरापालनमा संलग्न हुनुहुन्थ्यो। भदौ १० गते भोटेकोशीमा जसै बाढी उर्लेर आयो, घरमा रहेका उहाँ र उहाँका परिवारका सदस्यहरू स्वाभाविक रूपमा आत्तिनुभयो। अगाडि र पछाडि दुवैतर्फबाट घरलाई बाढीले घेरेपछि उहाँहरूले अन्ततः घरकै सहारा लिनुभयो। घरलाई निरन्तर बाढीले प्रहार गरिरहँदा घर थिलथिलो भयो। घरका पिल्लरहरू क्षतिग्रस्त हुँदासमेत धन्न घरचाहिँ बगाएन। र, बाढीकै बीच उहाँहरूको उद्धार सफल भयो। 

नेपालका अनुसार बाढीले उहाँको कुखुरा फाराममा रहेका १५ सय ब्रोइलर कुखुरा र ५० बोरा दाना बगायो। सुस्केरा हाल्दै उहाँ भन्नुहुन्छ, "बाढीले सबैथोक बगाए पनि कमसेकम परिवारको भने ज्यान बच्यो। यसैमा सन्तोष मानेका छौँ।" उहाँकी श्रीमतीले घरमै चलाउनुभएको ब्युटी पार्लरसमेत बाढीले बगायो। घर बेकामे भएपछि तुप्चेस्थित सामुदायिक 'महिला भवन'मा एउटा कोठा भाडामा लिएर उहाँको सिङ्गो परिवार बसिरहेको छ। नेपालका अनुसार विदुर–७ तुप्चेमा झन्डै १७५ देखि १८० वटा घर बाढीले बगाएको र भत्काएको छ। त्यस वडामा बेपत्ता र मृत्यु हुनेमा स्थानीयवासी नै १०९ जना हुनुहुन्छ। अन्यत्रबाट आएर यहाँ बसेका ५० देखि ६० जना हराउनुभएको छ। 

अहिले सरकारको लागत सङ्कलनका लागि आफ्नो विवरण भरिरहनुभएका उहाँले भन्नुभयो, "ठ्याक्कै के गर्ने थाहा छैन। भविष्य कता हो, केही भन्न सकिएन।" 

नारायणप्रसाद नेपालकै जेठा दाइ भरतप्रसाद नेपाल पनि कतारमा ७/८ वर्ष श्रम गरेर नेपाल फर्कनुभएको थियो। केही महिना पहिले रोजगारीका लागि मकाउ गई त्यहाँको काम चित्त नबुझेर नेपाल फर्केका भरतप्रसादको घर पनि बाढीले बगायो। नारायणका अनुसार अहिले उहाँका ठूल्दाइ र उहाँको परिवार पनि नजिकै फरक-फरक कोठा भाडामा लिएर बसिरहनुभएको छ। नारायणप्रसाद बताउनुहुन्छ, "कमाइका लागि कोही न कोही विदेश नगएका नेपाली घरहरू बिरलै होलान्। त्यसो हुँदा भोटेकोशीको बाढीले विदेशमा बगाएको पसिनाको धेरै मूल्य बगाएको छ।" 

नारायणप्रसादका ठूलोबाका छोरा महेन्द्रप्रसाद नेपाल पनि कतारमै काम गर्नुहुन्छ। भदौ १० गतेको दिन महेन्द्र कतारबाट बिदामा आउनुभएको १५ दिन मात्र भएको थियो। सो विपत्तिमा महेन्द्रले घरसँगै आफ्नी आमालाई समेत गुमाउनुभयो। बाढीले उहाँकी आमालाई घरैसहित बगाएर लग्यो। अहिले कुशको शव बनाएर आमाको क्रियाकर्मसमेत सकियो। महेन्द्र बालबच्चालाई पढाउने उद्देश्यसहित सदरमुकाम विदुरमा डेरा लिएर बस्नुभएको छ। नारायणका अनुसार महेन्द्र, "नेपालमा केही उपाय छैन, फेरि जानुपर्ला" भन्दै हुनुहुन्छ। 

तुप्चेकै नारायण सुनारी मगर हाल साउदीमा रोजगारीका क्रममा हुनुहुन्छ। उहाँको समेत घर बाढीले बगायो। उहाँका वृद्ध बुबा, श्रीमती र छोराछोरी हुनुहुन्छ। 

काठमाडौँको स्युचाटारमा बस्ने उत्तम न्यौपाने चिलिमे हाइड्रोपावरमा चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो। थुप्रै वर्ष कुवेत र इराकमा श्रम गरेर फर्कनुभएका उहाँ भदौ १० को बाढीमा बेपत्ता हुनुभयो। अहिले स्युचाटारमा उहाँको काजक्रिया चलिरहेको छ। अमेरिकामा एक दशकभन्दा बढी बिताएर विदुरको बेत्रवतीमा 'घडीघर' बनाएर नाम कमाएका योगेश आदिको सो घर नै बगायो। 

यता, त्रिशूली नदी र तादी नदीको किनारमा रहेको विदुर नगरपालिका–५ देवीघाट बजारमा २०७२ को भूकम्पपछि प्रकाश रिमाल र यमुना घिमिरेले बनाएको घर पनि बाढीले तहसनहस बनायो। अहिले उहाँहरूको घर भएको ठाउँ बगरमा परिणत भएको छ। प्रकाश रिमाल भने आफ्ना दुई सन्तानको शिक्षा र समृद्ध परिवारका निम्ति ४ वर्षयता कम्बोडियामा कार्यरत हुनुहुन्छ। घिमिरे भन्नुहुन्छ, "बालबच्चाको रेखदेखमा व्यस्त हुन्छु। उहाँ (श्रीमान्) कै कमाइमा निर्भर हुनुपरेको थियो। घरसम्पत्ति बगाएपछि हामी आत्तिएका छौँ।" 

भदौ १० को प्रलयबाट घर र परिवार गुमाएका वैदेशिक रोजगारीमा रहेका श्रमिक साथीहरू कति हुनुहुन्छ, ठ्याक्कै तथ्याङ्क पहिल्याउन सजिलो छैन। तर यो विपत्तिमा रोजगारदाता, सरकार र मुलुकसँगै श्रमिकका साथीहरूले विपत्तिमा परेकाहरूको पहिचान गर्दै उहाँहरूको दुःखमा मल्हम लगाउने प्रयास गर्नु आवश्यक छ। यसका लागि छलफल र बहस चलाएर एउटा निचोडमा हामी पुग्नुपर्छ। घरपरिवारको माया, ममता र चाडपर्व छाडेर मुलुकलाई समृद्ध बनाउन योगदान गर्नेको दुःखमा संवेदनशील मान्छेहरूले केही त गर्नैपर्छ। 


Related Story and Articles

The Festivals We Miss, The Hope We Carry

The Festivals We Miss, The Hope We Carry

आमा, आउन पाइनँ दशैँमा तर उज्यालो आएकै छ…

आमा, आउन पाइनँ दशैँमा तर उज्यालो आएकै छ…

Being Comfortable in an Uncomfortable Place

Being Comfortable in an Uncomfortable Place

मन्त्रालयको नाम बदलियो, श्रमिकको 'भाग्य' बदलिएला?

मन्त्रालयको नाम बदलियो, श्रमिकको 'भाग्य' बदलिएला?

श्रमिक महिला आत्मनिर्भरताको नयाँ व्याकरण

श्रमिक महिला आत्मनिर्भरताको नयाँ व्याकरण

Get In Touch

Kathmandu, Nepal
+977-1-5915740
+977-9851322853
info@shramiksanjal.org
shramik.sanjal@gmail.com

Embassy of Nepal

  • Doha, Qatar
  • Abu Dhabi, UAE
  • Kuwait City, Sate of Kuwait
  • Riyad, Saudi Arabia
  • Muscat, Oman
  • Manama, Bahrain
  • Kuala Lumpur Malaysia

Useful Links

  • Foreign Employment Board
  • Ministry of Employment Labor and Social Security
  • Department of Foreign Employment
  • National Human Rights Commission
  • Department of Consular Services
  • Social Security Fund

Newsletter

Don't miss the latest news

Signup For Our Latest Updates and Newsletter

Copyright ©2026 Shramik Sanjal, All rights reserved.