Logo
  • Home
  • Our Movement
    Organizing
    Organizing
    Direct Support
    Direct Support
    Empowerment
    Empowerment
    Representation
    Representation
  • Our Voices
    Report
    Report
    Purano Panna
    Purano Panna
    Photo Story
    Photo Story
    Story & Articles
    Story & Articles
    Videos
    Videos
    Statements
    Statements
  • Join Us
    • Become Member
    • Career
  • About Us
    Vision Mission and Values
    Vision Mission and Values
    How we evolve?
    How we evolve?
    Our Network
    Our Network
    Shramik Chautari
    Shramik Chautari

आमा, आउन पाइनँ दशैँमा तर उज्यालो आएकै छ…

October 15, 2026
सद्भाव नेपाली
आमा, आउन पाइनँ दशैँमा तर उज्यालो आएकै छ…

आमा, यस पटक रसुवा बाढी र कालीगण्डकी बाढीले हाम्रा उज्याला पर्वहरूमाथि अँध्यारो पोखिदियो। तर मोबाइलका क्यालेन्डर र लमतन्ने पात्रोमा तीज, दशैँ, तिहार, ल्होसार, बुद्ध पूर्णिमालगायत पर्वको उल्लेख जहिल्यै छ। तर हजारौँ नेपालीको घरमा शोक छ। 

यो शोकमा विश्व समुदाय पनि मिसिएको छ। अहिलेसम्मको तथ्यांकमा ६०६ जना विदेशी नागरिकहरू लेदोसहितको ल्हेन्देको बाढीपहिरोमा हराएका छन्। जलवायु परिवर्तन समेत कारक भनिएको यो विपत्तिमा वास्तवमा विश्वका शक्तिशाली देश र तिनका राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था पनि तानिएका छन्। 

हरेकजसो नेपाली घरका सन्तान मध्यपूर्व, मलेसियादेखि संसारका अनेकन् देश पुगेका छन् आफ्नो भाग्य आजमाउन। कति त दुई छाक सहजै खानका लागि लागेका छन् मुग्लान। श्रमिक सञ्जालबाटै थाहा पाइयो—श्रमिक साथीहरूले विदेशमा कयौँ वर्ष मेहनत गरेर स्वदेशमा जोडेका सम्पत्तिहरू रसुवाको ल्हेन्दे खोलाले बगायो। कालीगण्डकीमा पनि त्यस्ता सम्पत्ति बगे। 

देश शोकमा डुबे पनि धेरै नानीबाबुहरूले औँला भाँचिरहेकै छन्—मामाघर कहिले जाने? जमरा टीका कहिले लगाउने? अहिलेका नानीबाबुका र ४० काटेका हाम्रो पुस्ताका कथनबीच फरक छन्। नानीबाबुहरू सामाजिक सञ्जालका अल्गोरिदमबाट दशैँ आएको भेउ पाउँदा हुन्, हामी अर्कै युगमा जन्मिएका। बाटो खनेर/सफा गरेर दशैँ बोलाउँथ्यौँ हामी। बाबियोको पिङ बाटेर दशैँको तयारी गर्थ्यौँ र भन्थ्यौँ, “दशैँ आयो, खाउँला पिउँला!” 

खाने र पिउने कुरा दशैँसँग जोडिएको रहेछ पहिले। राम्रो एक छाक मिठो खानकै लागि चाडवाड पर्खनुपर्ने विगतको विडम्बनातर्फ संकेत गर्छ साना नानीहरूले मच्चीमच्ची गाउने त्यो लोक रचनाले। आमा, अहिले त धेरैजसो नेपालीको घरमा त्यो विडम्बना छैन। दशैँलगायत पर्वबाहेकका दिनमा पनि मिठोमसिनो खान सक्ने योग्यता बनाएका छन् धेरैजसो नेपालीले। टन्न खान नपाउनु महापीडा हो। पेटभर खान नपाउने घटना दुर्लभ छन् अहिले। 

पहाडमा जन्मे-हुर्केकाले दशैँ भन्नेबित्तिकै पहेँला जमरा र रातो अक्षता सम्झनामा आइहाल्छन्। कमेरो र रातोमाटोले पोतेको ढुंगेघर याद आइहाल्छ। अलि पछि हाम्रो परिवार सुख र सहज जीवनको खोजीमा पहाडबाट तराई झर्‍यो। वरपीपलका रूखमा हालिने पिङ र चौर-मैदानतिर हालिने पिङको दशैँबाट अब दुर्गामाताको माटोको मूर्ति सजाएर गरिने भव्य पूजा दशैँमा थपियो। हामीले बोकेर लगेको जमरा र टीकाको संस्कृति पनि तराईमा मर्ने कुरै भएन। अहिले त दशैँ 'ग्लोबल' भएको छ। पहाडबाट तराईमा अवसर खोज्दै गएको थियो हाम्रो परिवार। अनि म तराईबाट यता मलेसिया आएँ, अझै थप अवसरको खोजीमा। 

यता आएको झन्डै सात वर्ष बिते। यस बीचमा एक पटक मात्र घरमा दशैँ मनाउन पाएँ। आएको वर्ष दशैँ मनाउन नपाएकोमा नराम्ररी पिरोलिएँ। नेपालमा बस्नेहरूले फेसबुकमा पहेँला जमरा र अक्षता लगाएर राखेको तात्तातो तस्बिर देख्दा हुरुक्कै हुन्थेँ। हामीलाई दशमीको अक्षता लगाइदिँदा पिताजीको थर्थराएको वृद्ध हात र आमाको उत्साह सम्झेर विदेशमा भावुक भएँ। दोस्रो वर्ष त्यही रन्कोमा दशैँमा घर जाने अड्डी लिएँ कम्पनीमा। म्यानेजरले नमानेर मालिकसम्मै आफ्नो कुरा पुर्‍याएर दशैँको टीका लगाउन घरमा आउन पाएँ। 

अनि आफूले आफ्ना र दाइदिदीका बालबच्चाका लागि समेत दशैँ बोकेर आएँ। जब मैले ल्याएका सुकिला नाना लगाएर बालबच्चाहरू घरवरपर दौडन थाले, तब मैले दशैँलाई आर्थिक समृद्धिसँग पनि जोडेर हेर्न लागेँ। पहिले हाम्रा लागि दशैँ वर्षको एक पटक नयाँ लुगा लगाउने र एक छाक मिठो खाने पर्व थियो। एउटा कथन छ, “अष्टमी कुटुकुटु, नवमी मकै भुटु, दशमी साग बेडाऊ।” 

पहिले त आम नेपालीका घरमा त्यस्तै नै थियो—अष्टमीमा विशेष भोजन गर्‍यो, अरू दिन जसोतसो गुजारा मात्र। शासक, मुखिया र टाठाबाठाको दशैँ अलग भयो। वैदेशिक रोजगारीसँगै देशमै समेत सिर्जना भएका कतिपय रोजगारीले सिर्जना गरेको आर्थिक मजबुतीका कारण अहिले त हाम्रा नानीबाबुले नै वर्षमा धेरै जोर लुगा लगाउँछन् (यद्यपि, वातावरणप्रति सचेत मान्छेहरू धेरै लुगाकपडाको प्रयोग, धेरै स्रोतसाधनको प्रयोगलाई गलत भन्छन्)। मिठो लागेको कुरा खान तिनले पर्व कुर्नु परेको छैन। विपन्न समुदाय र वर्गकै हकमा पनि वर्षको एक पल्ट मिठो खाने र मिठो लाउने कुरा बिस्तारै पुरानो कथा हुँदैछ। 

आमा, उमेरको परिपक्वताले हो या जिम्मेवारीले, पहिले झैँ दशैँको नियास्रो छैन। परिश्रम र मेहनतका कारण हामीले ठीकै गरिराखेका छौँ। बच्चाले पढ्न पाएका छन्। विश्वभर वातावरण, वायु प्रदूषणका चुनौती बढ्दो छन्, तर खाना र पोषणले आममान्छेको औसत शारीरिक र मानसिक वृद्धिदर राम्रो छ। मान्छेकेन्द्रित पूर्वाधारहरू राम्रा बनेका छन्। दिदीबहिनी र हाम्रा छोरीहरूको अधिकारको विषय पहिलेभन्दा संवेदनशील र सुरक्षित हुँदै गएको छ। गमेर ल्याउँछु, विदेशमा गएर नेपालीका छोराछोरीले कमाएको पैसाले नेपालीका नातिनातिनाको भविष्य थप सुरक्षित हुँदैछ। मानवअधिकार र न्यायका विषय सार्वजनिक सरोकारको विषय भएको दशकौँ भइसक्यो। पहिलेभन्दा सर्वत्र चेतना र जागरण बढ्दो छ। 

आमा, म दशैँमा आउन नपाए पनि पहिलेभन्दा हाम्रो घर उज्यालो छ। फोनबाटै भए पनि हामीले टीका लगाउन पाएका छौँ। टीका लगाएको हेर्न पाएका छौँ। हाँसो र आँसु साट्न पाएका छौँ। बा त मैले दशैँ मनाएको साल नै बित्नुभयो। सिंगो घरलाई तपाईँको आशीर्वाद सधैँ छ। स्वर्ग कतै छ भने बाले पनि आशीर्वाद दिइरहनुभएकै होला। हाम्रा बालबच्चाले सुकिला लुगा लगाउन र पढ्न पाएकोमा म खुसी छु। 

साँझबिहान घरगोठको काम गरेरै भए पनि बल्लतल्ल एसएलसी (एसईई) सकेँ मैले। दिदीले त त्यो पनि गर्न पाइनन्। अहिले पनि चित्त दुखाउँछिन्—भाइ (म) र उनमा बाआमाले विभेद गरे भन्दै। भाइलाई चाहिँ कर गरेरै भए पनि स्कुल पठाउन प्रयत्न गरेर उनलाई त्यसो नगरेकोमा उनको दुखेसो छ। खैर, दिदी पनि राम्रै घर परिन्। सन्ध्याकालीन स्कुल गएरै भए पनि भर्खरै एसईई सकाइन् दिदीले। यसले पनि उज्यालो आएको संकेत गर्छ। 

आमा! तपाईँले त सावा अक्षर नै पढ्न पाउनु भएन। छोरी मान्छेलाई उतिखेर पढ्नमा कहाँ अधिकार थियो र! तर आज भने आफैँ आमा भइसकेकी दिदीले एसईई सकिन्। अझ अब त कलेज पढ्न जाने रे! कति सुखद कुरा। शिक्षाले हामीलाई साँच्चै बलियो बनाउँछ, आमा। तपाईँले पो पढ्न पाउनु भएन, त्यसमा खेद छ। तर त्यो त युग नै अँध्यारो थियो, मध्यरातमा जसरी पारि गाउँमा कतैकतै हामी पहिले-पहिले टुकी बत्तीको पिलपिल देख्थ्यौँ। तर तपाईँका सबै सन्तान साक्षर भए। अक्षर र भाषा जानेकै कारण म यता राम्रो जागिरमा छु। अलि टाढा छु, दुःखको कुरा त्यति मात्र हो।

… 

आमा, कतिपय मान्छेहरू दशकौँ अघिको परदेशीको दशैँ सम्झेर, अहिले पनि परदेशीको दशैँ त्यस्तै हुनेझैँ गर्छन्। भाइरल हुन हो वा अरू नै कारण, कतिले त सञ्जालमा रुवावासी गर्छन्। तर क्रमिक विकास देखेको मलाई चाहिँ उहाँहरूलाई जस्तो लाग्दैन। उतिखेर सञ्चारको अभावमा दुनियाँ नै अँध्यारो थियो। परदेश काम गर्न गएका आफ्ना सन्तान सग्लै आइपुग्लान् या नपुग्लान्, खबरै मात्र पनि आउला कि नआउला भनेर बाआमा र आफन्त कहालिनुपर्ने त्यो युग साँच्चै अँध्यारो थियो। 

अहिले पहिलेझैँ छैन। संसारका अधिकांश देशले आफ्ना देशमा काम गर्न आएका श्रमिकको हक र हितमा काम गर्नुपर्ने हुन्छ। त्यसका लागि अनेकन् नियम र निकाय छन्। अपवादका कुरा अलग, नत्र मान्छेको गरिमा र मर्यादा पहिलेभन्दा बढेकै छ। 

आमा, माथि नै मैले भनेँ, बाढी र पहिरोले यो साल हाम्रो उज्यालोमा अँध्यारो पोखियो। तर पनि शोकका बीच पनि यो दशैँ मानिनेछ। छोरीले फोटो खिचेर पठाइसकेकी छिन्—हाम्रो घरमा राखेको जमरा टुसाउन थालिसक्यो। शोकका कारण दशैँ नमान्नेहरूमा हाम्रो भावनात्मक साथ छ। तर पहिलेभन्दा कम उल्लासमै सही, घरमा दशैँ मानिनेछ यो साल पनि। 

मैले पछिल्लो पटक दशैँ मनाएको साल अक्षतामा अबिर अलि बढी नै भयो। यो साल ठीक्क मिलाएर बनाउनुहोला। फूलपातीको दिनबाट कपडाले छोप्नु जमरा, नत्र हरियै होला। म त टीकाको दिनको फोटो पर्खेर बसिरहेको छु। नातिनातिना र बुहारीसमेत बसेर एउटा सामूहिक फोटो खिच्नु। अनि त मलाई दशैँ आइहाल्छ, आमा। म खुसी छु। किनकि पहिलेभन्दा जीवन नै उज्यालो छ अचेल। 


ह्याप्पी दशैँ, आमा। 


Related Story and Articles

The Festivals We Miss, The Hope We Carry

The Festivals We Miss, The Hope We Carry

ल्हेन्दे खाेलाकाे बाढीले बगायो विदेशको कमाइ, मल्हम लगाउने बेला यही…

ल्हेन्दे खाेलाकाे बाढीले बगायो विदेशको कमाइ, मल्हम लगाउने बेला यही…

Being Comfortable in an Uncomfortable Place

Being Comfortable in an Uncomfortable Place

मन्त्रालयको नाम बदलियो, श्रमिकको 'भाग्य' बदलिएला?

मन्त्रालयको नाम बदलियो, श्रमिकको 'भाग्य' बदलिएला?

श्रमिक महिला आत्मनिर्भरताको नयाँ व्याकरण

श्रमिक महिला आत्मनिर्भरताको नयाँ व्याकरण

Get In Touch

Kathmandu, Nepal
+977-1-5915740
+977-9851322853
info@shramiksanjal.org
shramik.sanjal@gmail.com

Embassy of Nepal

  • Doha, Qatar
  • Abu Dhabi, UAE
  • Kuwait City, Sate of Kuwait
  • Riyad, Saudi Arabia
  • Muscat, Oman
  • Manama, Bahrain
  • Kuala Lumpur Malaysia

Useful Links

  • Foreign Employment Board
  • Ministry of Employment Labor and Social Security
  • Department of Foreign Employment
  • National Human Rights Commission
  • Department of Consular Services
  • Social Security Fund

Newsletter

Don't miss the latest news

Signup For Our Latest Updates and Newsletter

Copyright ©2026 Shramik Sanjal, All rights reserved.