Logo
  • Home
  • Our Movement
    Organizing
    Organizing
    Direct Support
    Direct Support
    Empowerment
    Empowerment
    Representation
    Representation
  • Our Voices
    Report
    Report
    Purano Panna
    Purano Panna
    Photo Story
    Photo Story
    Story & Articles
    Story & Articles
    Videos
    Videos
    Statements
    Statements
  • Join Us
    • Become Member
    • Career
  • About Us
    Vision Mission and Values
    Vision Mission and Values
    How we evolve?
    How we evolve?
    Our Network
    Our Network
    Shramik Chautari
    Shramik Chautari

श्रमिक महिला आत्मनिर्भरताको नयाँ व्याकरण

July 21, 2026
यिश्वरा सिवा
श्रमिक महिला आत्मनिर्भरताको नयाँ व्याकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको 'अराइभल गेट' बाट बाहिरिँदै गर्दा एउटी छिन् एउटी नेपाली महिला। त्यहाँ उनको सुटकेसको पाङ्ग्रा मात्र गुडिरहेको हुँदैन। त्यससँगै गुडिरहेको हुन्छ- एउटा सिङ्गो युगको रूपान्तरण।

​हिजो जब उनी यही विन्दुबाट बाहिरिएकी थिइन्, उतिखेर उनका आँखाहरू घरेलु बाध्यता, सामाजिक सङ्कुचन र आर्थिक अभावका कारण गह्रुँगा थिए। सपनाहरू पातला थिए। वर्षौँको परदेश बसाइ र गगनचुम्बी महलहरूको आधुनिक श्रम बजारमा खिएर उनी आज त्यही ढोकाबाट स्वदेश फर्किएकी छिन्। अहिले उनको हिँडाइमा एउटा फरक आत्मबलको कम्पन छ। आँखामा एउटा सर्वथा नयाँ दृष्टिकोण छ। यो दृष्टिकोण श्रम, संघर्ष र आत्मबोधको कडीमा खारिएर बनेको एउटा चेतनाको लेन्स हो।

​नेपाली श्रम बजार र विशेष गरी वैदेशिक रोजगारीको भाष्यलाई जहिले पनि 'आँसु', 'पीडा' र 'बिछोड' को सङ्कुचित कोष्ठकभित्र मात्र राखेर हेरियो। अखबारका पानाहरू लासका बाकस र रेमिट्यान्सको अङ्कगणितले मात्र भरिए। यद्यपि, परदेशको श्रम संस्कृतिले एउटी महिलाको सोच र आत्मविश्वासमा ल्याएको मूक क्रान्तिलाई समाजले अक्सर नजरअन्दाज गरिरह्यो। आज जब ती फर्किएका हातहरूले आफ्नै देशको माटो, सडक, बजार र राजनीतिलाई हेर्छन्, तब नेपालको वर्तमान परिवेश उही परम्परागत भाष्यभन्दा निकै फरक, जीवन्त र सम्भावनाले भरिएको देखिन्छ।

​श्रमको सम्मान

​परदेशमा रहँदा ती महिलाले भोगेको र देखेको सबैभन्दा ठूलो सत्य के हो भने- त्यहाँ श्रमको उति सारो वर्गीकरण हुँदैन। एउटा ठूलो कर्पोरेट कार्यालयको हाकिम र सडक सफा गर्ने श्रमिकबीच कानुनी र आधारभूत मानवीय आदरमा भिन्नता हुँदैन। काम जेसुकै होस्, त्यो 'काम' हो र त्यसको आफ्नै मूल्य छ भन्ने सत्य उनले त्यहाँको प्रणालीबाट सिकिन्।

​आज त्यही परिवर्तित हेराइ बोकेर जब उनी नेपालको परिवेश नियाल्छिन्, तब उनलाई समाजको एउटा कुरूप पाटोमाथि प्रहार गर्न मन लाग्छ। नेपालमा अझै पनि शारीरिक श्रम गर्नेलाई हेयको दृष्टिले हेर्ने र टेबुल-कुर्सीमा बसेर कलम भाँच्नेलाई मात्र प्रतिष्ठित मान्ने सामन्ती सोचको अवशेष बाँकी नै छ। तथापि, परदेश देखेका आँखाहरूले यसलाई एउटा सकारात्मक चुनौतीको रूपमा लिन्छन्।

​उनी देख्छिन् कि हिजोका दिनमा 'लाज' मानिने सीपमूलक कामहरू आज युवा पुस्ताले गर्वका साथ गरिरहेका छन्। कफी कर्नर, कपाल काट्ने सैलुनदेखि प्लम्बिङ र निर्माणका प्राविधिक काममा नेपाली युवा आफैँ अगाडि सरिरहेका छन्। परदेशले सिकाएको श्रमको सम्मान बिस्तारै नेपाली माटोमा पनि अङ्कुरित हुँदैछ भन्ने कुरा उनको अनुभूत चेतनाले ठम्याउँछ।

​दोहोरो संघर्ष

​नेपाली महिलाको परम्परागत पहिचान जहिले पनि 'परनिर्भरता' को घेराभित्र कैद थियो। कहिले बाबु, कहिले पति त कहिले छोराको आर्थिक छहारीमा बस्नुपर्ने सामाजिक संरचनालाई वैदेशिक रोजगारमा गएका महिलाहरूले भत्काइदिएका छन्। परदेशमा आफ्नो पसिनाको कमाइ आफैँले व्यवस्थापन गरेकी एउटी महिला जब स्वदेश फर्किन्छिन्, उनी एउटी गृहिणी मात्र रहँदिनन्; उनी निर्णय प्रक्रियाको केन्द्र बनेर फर्किन्छिन्।

​यद्यपि, यो रूपान्तरणको बाटो सीधा र सहज भने छैन। स्वदेश फर्किएपछि उनीहरूले एउटा 'दोहोरो संघर्ष' को सामना गर्नुपर्छ। परदेशबाट कमाएर ल्याएको धनमाथि परिवार वा पतिको आधिपत्य जमाउने चेष्टा अझै जीवितै छ। त्यस्तै, फर्किएका महिलाको स्वतन्त्रतामाथि समाजले लगाउने सामाजिक लाञ्छना र शङ्कालु नजर अर्को चुनौती हो। तथापि, यो संरचनात्मक पितृसत्तात्मक अवरोधसँग जुध्न उनको यो नव-चेतना अब कमजोर छैन।

​हिजो बैंकको खाता खोल्न पुरुषको हस्ताक्षर कुर्नुपर्ने महिलाहरू आज आफ्नै उद्यमको योजना लिएर बैंक धाउन सक्ने भएका छन्। तिनलाई थाहा छ, जब महिलाको खल्ती बलियो हुन्छ, तब मात्र उसको भान्सा, समाज र विचारमा वास्तविक स्वतन्त्रता आउँछ।

​अँध्यारो पाटो

यद्यपि, परदेशको यात्रा सबै महिलाका लागि समान रूपमा सुखद र चेतना उन्मुख भने छैन। वैदेशिक रोजगारीको एउटा अर्को अँध्यारो पाटो पनि छ, जसलाई नजरअन्दाज गर्न मिल्दैन। विशेष गरी खाडी मुलुकका घरेलु श्रममा पुगेका कतिपय नेपाली महिलाहरू आज पनि कानुनी सुरक्षाको अभाव, रोजगारदाताको मानसिक तथा शारीरिक शोषण र श्रमको चरम अवमूल्यन भोग्न बाध्य छन्।

​कतिपय त अनेकन् हिलो-मैलो सहेर, आत्मसम्मान गुमाएर रित्तो हात स्वदेश फर्किनु परेका कारुणिक उदाहरण पनि छन्। सबैका आँखाहरू 'चेतनाको लेन्स' ले मात्र सजिएका हुँदैनन्; कतिका आँखाहरू त अझै पनि भित्री आघात र आँसुले धुम्मिएका हुन्छन्। यद्यपि, यो गम्भीर चुनौतीका बीचबाटै पनि जुन महिलाहरू समाजको अवरोध र परदेशको चक्रव्यूहलाई चिरेर दह्रो खुट्टा टेक्दै फर्किएका छन्, उनीहरूको संघर्ष अरूका लागि झन् बढी प्रेरणादायी बन्न पुग्छ।

​पुनः एकीकरणको सकस

​परदेशको आधुनिकता र प्रविधिलाई नजिकबाट नियालेकी उनका लागि आजको नेपाल प्रविधिको प्रयोगमा निकै अगाडि बढिसकेको देखिन्छ। गाउँ-गाउँमा पुगेको इन्टरनेट, स-साना पसलमा झुन्डिएका शीघ्र भुक्तानीका क्युआर कोड, र सामाजिक सञ्जालमार्फत भइरहेका व्यापारिक अभ्यासहरूले उनलाई उत्साहित तुल्याउँछ। हिजो सहरमा मात्र सीमित रहेका सुविधाहरू आज गाउँका कुनाकाप्चासम्म पुग्नुलाई उनी देशको एउटा ठूलो रूपान्तरणकारी कदम मान्छिन्।

​खैर, उनको यो श्रम-सापेक्ष बुझाइले सम्भावना मात्र देख्दैन, राज्यको ढिलासुस्ती र प्रणालीगत कमजोरीलाई पनि तीखो नजरले समात्छ। परदेशमा सेकेन्डभरमा हुने प्रशासनिक कामहरूका लागि नेपालमा अझै पनि सरकारी अड्डामा लाइन बस्नुपर्ने कुरूपता देख्दा उनको मन चसक्क हुन्छ। राज्यले घोषणा गरेको 'वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण कार्यक्रम' कसरी केवल झन्झटिलो कार्यविधि र कागजी प्रक्रियाको पासोमा परेको छ भन्ने यथार्थ उनले आफैँ भोग्छिन्।

​सहुलियतपूर्ण कर्जा वा स्वरोजगारका घोषणाहरू पहुँच र भनसुन विना नपाइने धरातलीय यथार्थले कतिपय महिलालाई पुनः निराशातर्फ धकेल्ने र पुनः आप्रवासनको चक्रमा फस्न बाध्य पार्ने जोखिम उत्तिकै रहन्छ। डिजिटल साक्षरता र प्रविधिको सही सदुपयोग गर्ने हो भने यी प्रशासनिक जडतालाई सजिलै पन्छाउन सकिन्छ र यसका लागि युवा पुस्ताले नीतिगत तहमा दबाब बढाउनुपर्छ भन्ने उनको दृढ विश्वास छ।

​आशाको खनजोत

अहिलेको नेपाली बौद्धिक र सामाजिक विमर्शमा एउटा खतरनाक प्रवृत्ति हाबी छ- 'निराशाको खेती'। चिया पसलदेखि संसद्सम्म, टिकटकका भिडियोदेखि अखबारका सम्पादकीयसम्म "यो देशमा केही हुँदैन, सबै बरबाद भयो, यहाँ भविष्य छैन" भन्ने भाष्य जबरजस्ती स्थापित गर्न खोजिँदै छ। देशभित्रै रोजगारी नपाएर, भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीले थिचिएर बस्न बाध्य देशभित्रकै युवा पुस्ताले व्यक्त गर्ने आक्रोश र निराशा आफ्नै ठाउँमा जायज होला। तथापि, विदेशको मरुभूमिमा अनागरिक भएर श्रम गरेर फर्किएकी तिनै महिलाका लागि भने यो माटो आफैँमा एउटा विराट सम्भावनाको थलो हो।

​जसले परदेशमा आफ्नो पहिचान र आधारभूत अधिकार भुक्तानी गरेर बाँच्नुको पीडा भोगेको छ, उसलाई मात्र थाहा हुन्छ आफ्नो माटोको स्वतन्त्रताको वास्तविक मूल्य के हो। उनको परिवर्तित दृष्टिकोणले नेपाललाई 'केही नभएको देश' देख्दैन, बरु 'सबै कुरा बनाउन बाँकी रहेको कुमारी भूमि' देख्छ। उनी देख्छिन् कि यहाँ पानी छ, हरियाली छ, आफ्नै मान्छेहरूको साथ छ र सबैभन्दा ठूलो कुरा- केही नयाँ गर्ने अथाह सम्भावना छ। परदेशमा अर्काको इसारामा मेसिनजस्तै खटिनु पर्ने बाध्यताबाट मुक्त भएर आफ्नै आँगनमा एउटा सानो उद्यम गर्दा पाइने आत्मसन्तुष्टि संसारको कुनै पनि डलर वा दिरामसँग तुलना हुन सक्दैन भन्ने सत्य उनले बुझेकी छन्।

​उद्यम र नेतृत्वमा हस्तक्षेप

​यो नव-चेतना एउटा सुन्दर कल्पना मात्र होइन, यसका ठोस पाटाहरू नेपाली भुईँ तहमा देखिन थालेका छन्। नेपाल श्रम शक्ति सर्वेक्षण र वैदेशिक रोजगार बोर्डका विभिन्न अध्ययनहरूले पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीबाट फर्केका महिलाहरूमध्ये ठूलो हिस्सा साना तथा मझौला उद्योग, कृषि र स्थानीय सहकारीको नेतृत्वमा जोडिएको देखाउँछ। केन्द्रीय तथ्याङ्क विभागको साङ्केतिक चित्र हेर्ने हो भने पनि घरेलु तथा साना उद्योगहरूमा महिलाको स्वामित्व र नेतृत्व दर बिस्तारै उकालो लाग्दै छ, जसमा फर्किएका आप्रवासी महिलाहरूको योगदान महत्त्वपूर्ण छ।

​परदेशमा आर्जन गरेको वित्तीय साक्षरता, कार्य संस्कृति र सानो पुँजीलाई लगानी गरेर गाउँ-गाउँमा महिलाहरूले व्यावसायिक कृषि, घरेलु हस्तकला र बजार व्यवस्थापन सम्हालेका छन्। हिजो खाडीमा घरेलु श्रमिकका रूपमा खटिएका महिलाहरू आज आफ्नै गाउँका साना वित्तीय संस्थाहरूको सञ्चालक वा व्यवस्थापक बनेर गाउँको अर्थतन्त्र हाँकिरहेका छन्। स्थानीय निर्वाचनहरूमा पनि वैदेशिक रोजगारीको अनुभव र सामाजिक चेतना बोकेका महिलाहरूको उपस्थिति बढ्नुले नीतिगत तहमा एउटा फरक र परिपक्व दृष्टिकोण भित्र्याएको छ। उनीहरूले बुझेका छन् कि नेतृत्व र उद्यममा महिलाको यो हस्तक्षेप नै वास्तविक सामाजिक रूपान्तरणको जग हो।

​भविष्यको मार्ग

संसारका ठूला र वैभवशाली सहर र विलासी मल पुँजीपतिहरूका योजनामा मात्र ठडिएका होइनन्। ती त संसारभरका श्रमिकका कठोर पसिनाको जगमा उभिएका हुन्। परदेशको त्यो वैभव बनाउन आफ्नो युवावस्था खर्चिएर स्वदेश फर्किएकी नेपाली श्रमिक महिला आज नेपालका लागि एउटा ऊर्जावान् मानवीय पुँजी हुन्। उनीसँग केवल रेमिट्यान्सको पैसा छैन; उनीसँग कार्य संस्कृति, व्यावसायिक अनुशासन र संकटसँग जुध्ने अनौठो कला छ।

​विडम्बना, राज्यले नीतिगत तहमा उनीहरूले भित्र्याएको यो अमूल्य सीप र अनुभव पहिचान गर्न र राष्ट्र निर्माणको मूलधारमा समेट्न अझै पनि कन्जुस्याइँ गरिरहेको छ। यति हुँदाहुँदै पनि, विमानस्थलबाट बाहिरिएर आफ्नो गाउँको उकालो चढ्दै गर्दा उनको मनमा एउटै संकल्प हुन्छ- "मैले परदेशको मरुभूमिलाई त हराभरा बनाउन पसिना बगाएँ भने यो त मेरै पुर्खाको रगत-पसिनाले सिञ्चित माटो हो। यहाँ त मेहनत गर्दा सुन फलाउन सकिन्छ।"

​त्यसैले, फर्किएकी महिलाको यो नव-चेतनाको कडीबाट हेर्दा आजको नेपाल चरम निराशाको खाडलमा भासिएको देश होइन। बरु यो चेतना, प्रविधि र श्रमको नयाँ सङ्गमबाट एउटा सुनौलो भविष्यतर्फ पाइला चाल्दै गरेको रूपान्तरणको महामार्ग हो। अबको भाष्य श्रमिकलाई 'बिचरा' वा 'पीडित' देखाउने होइन, उनीहरूभित्रको यो आत्मनिर्भरता र गौरवलाई सलाम गर्ने हुनुपर्छ।

किनकि, यो देश फेरिनेछ र त्यो फेरबदलको अग्र पङ्क्तिमा तिनै परदेशबाट फर्किएका जाँगरिला हातहरू र तिनको बदलिएको दृष्टिकोण रहनेछ।

Related Story and Articles

Building Skylines, Fleeing Missiles: Invisible Victims of the GCC War

Building Skylines, Fleeing Missiles: Invisible Victims of the GCC War

Trap: When 'Two Years' Become Decades

Trap: When 'Two Years' Become Decades

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

श्रमिक: मेसिन कि मानव पुँजी?

श्रमिक: मेसिन कि मानव पुँजी?

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

Get In Touch

Kathmandu, Nepal
+977-1-5915740
+977-9851322853
info@shramiksanjal.org
shramik.sanjal@gmail.com

Embassy of Nepal

  • Doha, Qatar
  • Abu Dhabi, UAE
  • Kuwait City, Sate of Kuwait
  • Riyad, Saudi Arabia
  • Muscat, Oman
  • Manama, Bahrain
  • Kuala Lumpur Malaysia

Useful Links

  • Foreign Employment Board
  • Ministry of Employment Labor and Social Security
  • Department of Foreign Employment
  • National Human Rights Commission
  • Department of Consular Services
  • Social Security Fund

Newsletter

Don't miss the latest news

Signup For Our Latest Updates and Newsletter

Copyright ©2026 Shramik Sanjal, All rights reserved.